समाचार

प्रेस युनियनद्वारा लोकतान्त्रिक विधि र प्रक्रियामा जोड

पोखरा । नेपाल प्रेस युनियन प्रदेश नं ४ को कास्कीस्थित लुम्लेमा सम्पन्न भेलाले आसन्न नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्ने कुरामा जोड दिइएको छ ।

पत्रकार महासंघ आम पत्रकारको साझा संस्था भएकाले पत्रकारिता क्षेत्र सम्बद्ध विभिन्न पेशागत संगठनसँग आवश्यक छलफल गरी सर्वसम्मत नेतृत्वको प्रयास गर्ने निर्णय गर्दै भेलाले त्यसो हुन नसकेमा लोकतान्त्रिक विधि र प्रक्रियालाई अवलम्बन गर्ने निर्णय गरेको छ ।

भेलाले अन्य पेशागत संगठनसँग छलफल गर्नका लागि नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक प्रदीप काफ्लेको संयोजकत्वमा टंकराज अधिकारी, ज्ञानेन्द्र गौतम, दिलीप पौडेल र ऋषिकान्त पौडेल रहेका पाँच सदस्यीय समिति गठन गरेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले संगठनलाई व्यवस्थित एवं क्रियाशील बनाउन आवश्यक भएको बताए । आसन्न पत्रकार महासंघको प्रदेश अधिवेशनमा योग्य र दक्ष नेतृत्व चयन गर्नुपर्ने उनको धारणा थियो ।

युनियनका केन्द्रीय सचिव केवी रानाले पेशागत रुपमा क्रियाशील पत्रकार महासंघको सदस्यताबाट वञ्चित बन्ने अवस्था हुन नहुने बताउँदै पेशागत मर्यादाका लागि सदस्यता शुद्धीकरण आवश्यक हुनेमा जोड दिए ।

युनियनका पश्चिमाञ्चल संयोजक प्रदीप काफ्लेले विगतबाट पाठ सिक्दै आगामी दिनमा संगठनलाई चुस्त दुरुस्त एवं क्रियाशील बनाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाले प्रेस युनियनभित्रको आन्तरिक द्वन्द्वले केवल संगठनलाई कमजोर बनाउने गरेको बताउँदै विगतका अनुभवका आधारमा संगठनलाई थप क्रियाशील बनाउन नेतृत्वको ध्यानाकर्षण गराए ।

नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकारितामा क्रियाशील व्यक्तिले प्रेस युनियनमा नेतृत्व गर्नुपर्नेमा जोड दिँदैै व्यावसायिकताका साथै पेशागत दक्षता अभिवृद्धि गर्नु अपरिहार्य भएको बताए । युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले महासंघमा शुद्धीकरण आवश्यक भएकाले पेशागत दक्षता अभिवृद्धिका लागि पत्रकारलाई समय समयमा तालीम एवं अभिमुखीकरण प्रदान गर्नुपर्ने बताए । भेलामा प्रदेश नं ४ अन्तर्गतका विभिन्न जिल्लाका अध्यक्ष, उपाध्यक्ष एवं पदाधिकारीको सहभागिता रहेको थियो ।