कृषि

मसला बेचेरै तीर्थयात्रा

काँकडभिट्टा, झापा । आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आएका छन् ।

मेचीनगर–१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि घरेलु मसला बेचेको कमाइले तीर्थयात्राको इच्छा पूरा गर्दै आएकी हुन् । वर्षमा दुईपटक तीर्थ यात्रामा निस्कने गरेकी राजवंशी एकपटकको यात्रामा रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च हुने गरेको बताउँछिन् ।

गत माघ महिनामा उनी भारतको मायापुरी, वृन्दावन, जगनाथपुरीलगायत धार्मिकस्थलको दर्शनमा गएकी थिईन् । अब चाँडै अर्को तीर्थस्थलको भ्रमणमा जाने उनको तयारी छ । तीन छोरी र एक छोराकी आमा राजवंशी सीमावर्ती भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी, जिरा र धनियाँ किनेर ल्याउँछिन् । मसलामा प्रयोग हुने बेसार भने गाउँघरबाटै जुटाउँछिन् ।

परम्परागत रुपमा घरमै प्रयोग हुँदै आएको काठको ओखलमा मुसलले कुटेर उनी मसला बनाउँछिन् । यसरी खुर्सानी, बेसार, जिरा तथा धनियाँको मिश्रित र अलग अलगसमेत मसला बनाएर राजवंशी स्थानीय धुलाबारी बजारमा दैनिक बिक्री गर्छिन्।

“मेसिनमा भन्दा ओखलमा पिसेको मसला बढी स्वादिलो हुन्छ,” उनले भनिन् । घरमै पिसेको मसला बढी स्वादिलो हुने र अखाद्य पदार्थ मिसावट नहुने भएकाले स्थानीयवासी मसला किन्न आउने गरेका छन् । उनले बनाउने मसला बजारमा निकै लोकप्रिय छ ।

उनी मसला बोकेर आफै बजार धाउँछिन् । नगरपालिकाले बनाएको एउटा टहरामा बसेर राजवंशीले मसला बिक्री गर्दैआएकी छन् । दैनिक करिब पाँच किलोसम्म मसला बिक्री हुन्छ । “रु एक हजारदेखि रु एक हजार ५०० सम्म मुनाफा हुन्छ,” उनले भनिन् । मसलाको कमाइले घरपरिवारको भरणपोषणमा खर्च गर्ने गरेको राजवंशी बताउँछिन् ।

“आम्दानीको अधिकांश हिस्सा तीर्थयात्रामा खर्च हुन्छ,” उनले भनिन् । तीर्थयात्रामा जान अहिलेसम्म कसैसँग पैसा माग्नु नपरेको उनको भनाइ छ । घरमा एक्लै बस्दा दिग्दारी लाग्ने हुँदा सानोतिनो काममा लाग्दा आम्दानी पनि हुने भएकाले उनी अरुलाई मसला बेच्न सल्लाह दिँदै आएकी छन् । राजवंशीको सल्लाहमा गाउँका अरुदे पनि मेचीनगरका विभिन्न बजारमा मसला बेच्न थालेका छन् ।

राजवंशीलाई घर परिवारबाट पर्याप्त सहयोग पाइएको छ । “हजुरआमाको तीर्थयात्रामा गइरहने बानी छ”, बिर्तामोडको मनकामना कलेजमा स्नातक अध्ययन गर्दैआएकी नातिनी मनिषाले भनिन्, “हामीले उनलाई मसला व्यापारमा सहयोग गर्दैआएका छौँ ।”