पर्यटन/संस्कृति

‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि

रसुवा । विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ ।

लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २९ गते साहित्यिक स्रष्टाद्वारा कविता वाचन गरिने र चित्रकला कोरिने साहित्यकार फुर्पा तामाङले बताए ।

कविताका माध्यमबाट दिवंगतहरुको सम्झना गर्ने, लाङ्टाङ पदमार्ग सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र वातावरणका साथै जैविक विविधता संरक्षणमा जागरण ल्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जनाइएको छ । भूकम्पका कारण पहिरो आउँदा १७५ स्थानीयवासी र केही विदेशी पर्यटक तथा पथप्रदर्शकको निधन भएको थियो ।

क्यान्जेन गुम्बा पुनःनिर्माण

भूकम्पका कारण पूर्णरुपमा क्षति भएको क्याङ्जवेन गुम्बा पुनःनिर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र लाङ्टाङ क्षेत्रको क्याङ्जेन गुम्बा दाताहरुको सहयोगमा निर्माण गरिएको लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले जानकारी दिए ।

छ सय वर्ष पुरानो क्यान्जेन गुम्बामा भूकम्पले पूरै क्षति पु¥याएपछि ४० वर्ष अगाडिदेखि लाङ्टाङवासीसँग प्रगाढ सम्बन्ध बनाएकी जापानी आया आकासीको रु ९० लाख सहयोगबाट पुनःनिर्माण गरिएको बताइएको छ ।

ऐतिहासिक गुम्बा भएकाले पहिलाको स्वरुप नबिग्रने गरी स्थानीय लामागुरुको प्रत्यक्ष रेखदेखमा ढुंगा काटेर भित्री भागमा सिमेन्ट जडान, बाहिर काटेको ढुंगाको गाह्रो, छानामा काला स्लेट ढुंगा लगाई निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए ।

गुम्बा निर्माणले स्थानीय बौद्धधर्मावलम्बीलाई नियमित पूजाआजामा सहज भएको समाजसेवी ढिण्डूप तामाङले बताए । क्यान्जेन पुग्ने पर्यटकलाई समेत ऐतिहासिक गुम्बा अवलोकन गर्न सहज भएको छ । क्याङ्जेन गुम्बामा होटेलको व्यवस्थापनले अबका दिनमा पर्यटकको आगमन बढ्ने स्थानीय व्यवसायीले अपेक्षा गरेका छन् ।