पर्यटन/संस्कृति

टोपा नाच प्रदर्शन

म्याग्दी । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमेपूजाका अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ ।
भूमे र मण्डली पूजाका अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन छ । हरेक वर्ष चैत महिनाको अन्तिम उजेली मंगलबार गरिने भूमे र मण्डली पूजामा टोलबाट महिलाले टोपा नाच निकाल्ने गर्छन् ।

गाउँको शिरमा रहेको मण्डली बज्यैका थानमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका विभिन्न क्षेत्रबाट सयौँको संख्यामा भक्तजन पुग्ने गरेका छन् । पूजा र भाकल पूरा गर्न चिमखोला पुगेका भक्तजन मौलिक र परम्परागत कला संस्कृतिको अवलोकनबाट लोभिएर फर्कने गरेका छन् ।

भूमेपूजा गर्नुभन्दा ठीक एक महिना अगाडि गाउँसभाबाटै भूमेका लागि छ्याङ बनाउन हरेक टोलबाट दुई दुई महिला(छेमा) चयन गर्ने र उनीहरुले भूमेपूजाको दिन उक्त छ्याङ प्रसादका रुपमा गाउँलेलाई खुवाउने वडाध्यक्ष दुर्गाबहादुर पुनले बताए । भूमेपूजापछि लोपोन्मुख सेदो गीत गाउँदै गाउँ फर्किएपछि छेमाको सहभागितामा स्थानीयवासीले दोस्रो दिन टोपा नाच प्रदर्शन गर्ने चलन रहेको अग्रज कलाकार लबहादुर पुनले बताए ।

‘‘छेमाहरुले छ्याङ खुवाएपछि भूमेलाई खुशी बनाउन युवाहरु एकापसमा छ्याङको छोक्रा र खाना पकाउँदा आएको मोसो दलेर रमाइलो गर्छन्, चुलो घुमेपछि सेदो गीतमा नाचगान गर्दै गाउँ फर्किने गछौँ”, उनले भने, ‘‘यसै अवसरमा ऐतिहासिक टोपा नाच देखाउने चलन छ’’ । भूमेपूजाका अवसरमा देखाइने नाच र गाइने भाकामा देवीदेवतालाई पुकार्ने र सम्भावित प्राकृतिक प्रकोपबाट मुक्ति माग्ने चलन छ ।

परम्परागत रुपमा देवतालाई खुशी बनाउने र स्थानीयवासीलाई मनोरञ्जनका लागि भूमेपूजाका अवसरमा टोपा नाच, जुरेचल्ला र सर्मजाले र कलश जुधाउने देखाउनाका साथै सेदो र साहिँला तथा यानीमाया भाकामा गीत गाउने गरिएको चिमखोलाका ध्रुवकुमार पाइजाले बताए ।

हरेक टोलबाट नौमती बाजासहित साइलो, भैच साइलो र यानीमाया भाकामा नागगानसहित गाउँ परिक्रमापछि खेलमैदानमा पुगेर नाच प्रदर्शन गरिन्छ । सो अवसरमा उक्त नाच अवलोकनका लागि पुग्ने गाउँका अगुवाले आमा समूहको उत्थानका लागिसहयोग गर्छन् भने उनीहरुलाई सम्मानसहित आमा समूहले स्वागत गर्छ ।
आफ्नो रुप परिवर्तन गरी महिलाले टोपा नाच देखाएलगत्तै जुरेचल्ला, समाजा र कलश जुधाउने गरिएको कलाकार डेकबहादुर पहरे पुनले बताए । युवादेखि प्रौढसम्मका व्यक्तिले यसमा सहभागिता जनाउँछन् ।

अहिले विश्वभर चर्चित थाली नाचको शुरुआतसमेत चिमखोलाबाटै भएको हो । परम्परागत कलासंस्कृति जगेर्ना गर्न र नयाँ पुस्तामा हस्तान्तरणका लागि तालीलगायत कार्यक्रम सञ्चालन गर्न अक्षयकोष स्थापना गर्न आवश्यक रहेको भूमेपूजामा जन्मथलो फर्किएका समाजसेवी बमबहादुर पुनले बताए ।