देश

काठमाडौँका छात्रावासको नियमन गरिनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा सञ्चालनमा रहेका छात्रावासका गतिविधि सुरक्षाका कोणबाट नियमन गर्नुपर्ने बताइएको छ ।

‘छात्रावास व्यवस्थापनमा सुरक्षा चुनौती’ विषयको अन्तक्र्रियामा कामपाका उपप्रमुख हरिप्रभा खड्गीले छात्रावास सञ्चालक विद्यार्थीका लागि जिम्मेवार अभिभावक बन्न सकेका छन् कि छैनन् तथा दर्ता र करको दायरामा छन् कि छैनन् भन्ने विषय नियमित अनुगमन गर्नुपर्ने बताए ।

नेपाल छात्रावास एशोसिएसनका अनुसार काठमाडौँ उपत्यकामा करीब ६०० छात्रावास छन् । तीमध्ये ५०० एशोसिएसनका सदस्य छन् । सञ्चालनमा आएका छात्रावासको न्यूनतम मापदण्ड के हुनुपर्ने, कहाँ दर्ता हुनुपर्ने, छात्रावासमा को बस्छन् जस्ता विषय सुरक्षा कोणबाट चिन्ताको विषय बनेको छ ।

“काठमाडौँभित्र सञ्चालनमा रहेका कतिपय छात्रावास, छात्रावास नभई गेष्ट हाउस जस्ता छन् । छात्रावासमा को बस्ने, कति समयसम्म बस्ने भन्ने मापदण्ड नभएका कारण अब हामी छात्रावास दर्ता गरेर व्यवस्थित ढङ्गबाट चलाउने प्रक्रियामा लागेका छौँ”, एशोसिएसनका महासचिव गोविन्द गिरीले भने । एशोसिएनका काठमाडौँ जिल्ला अध्यक्ष रुपाली पौडेलले दर्ता गर्ने विषयमा आफूहरू अन्योलमा रहेको बताए ।