खेलकुद

कराते प्रतियोगिताः प्रतीकचिह्न खोटाङको सादा नक्शा

खोटाङ । यहाँ सञ्चालन हुने दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको प्रतीकचिह्न ‘खोटाङको सादा नक्शा’ सार्वजनिक गरिएको छ ।

नेपाल सितोरियो कराते संघको आयोजनामा आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा खोटाङलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले दिक्तेलस्थित माटीकारे खेलमैदानमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा महिला कुमितेतर्फ ४० केजी समूहमा सलिना भुजेल, ४५ केजी समूहमा नञ्जु राई, ५० केजी समूहमा रोस्मा राई, ५५ केजी समूहमा विद्याकला राई, ६१ केजी समूहमा जस्मिना राई र ८६ केजी समूहमा मिसडोना राई छानिएका छन् ।

पुरुष कुमितेतर्फ ४० केजी समूहमा प्रशान्त राई, ४५ केजी समूहमा प्रज्वल लिम्बू, ५० केजी समूहमा विकल राई, ५५ केजी समूहमा मोतीचन्द्र राई, ६० केजी समूहमा सन्तोष राई, ६७ केजी समूहमा सुजन राई र ७५ केजी समूहमा ईश्वरधन राई छानिएको नेपाल सितोरियो कराते संघले जनाएको छ । प्रतियोगितामा सात वटै प्रदेश, सबै विभागीय टोली तथा छिमेकी राष्ट्र भारत, श्रीलंका, भुटान र बंगलादेशलगायत देशको सहभागिता रहने आयोजक सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।