कृषि

गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा

ललितपुर । किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् ।

आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए ।

किसानले आफ्नो ठाउँको हावापानीअनुसारको आलुको जातको बीउ रोप्दैनन् । उनी भन्छन्, “धेरै किसानले आलुको जात भनेकै सेतो र रातो मात्रै हो भन्ने ठानेका छन् ।” बीउ गुणस्तरीय नहुँदा उत्पादन कम हुन्छ । भारतबाट आयात गरिने आलु सस्तो भएका कारण किसान त्यसतर्फ आकर्षित हुने गरेका छन् ।

“एउटै बीउ धेरै वर्षसम्म लगाउँदा किसानले पर्याप्त आम्दानी लिन सक्दैनन्,” गौतमले भने । नार्कले सिफारिस गरेका बीउ तीन÷चार पुस्तासम्म रोप्न सकिने उनको भनाइ छ ।

उच्च पहाडी भेगभन्दा तराईमा आलुको बीउ चाँडो फेर्नु पर्छ । बीउ चक्र पूरा नहुँदा नार्कले उत्पादन गरेका बीउ सबै किसानका लागि पर्याप्त हुँदैनन् । उनी भन्छन्, “सजिलै र सस्तो मूल्यमा भारतबाट बीउ आयात गरिने हुँदा तराईका अधिकांश किसान भारतीय बीउ रोप्छन् ।” पहाडमा भने आफूले भण्डारण गरेको बीउ किसानले धेरै वर्षसम्म रोप्ने गरेका छन् । मुलुकको हिमालदेखि तराईसम्मका अधिकांश जिल्लामा आलुखेती हुने गरेको छ ।