सूचना प्रविधि

सञ्चार सचिव गुरुङद्वारा पदबहाली

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गरेका छन् ।

सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको थियो । गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव थिए ।

सचिव गुरुङलाई मन्त्रालयका कर्मचारी, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय समाचार समिति र रेडियो नेपाललगायत मन्त्रालयअन्तर्गतका निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

सो अवसरमा सचिव गुरूङले सुशासन कायम गर्दै आधुनिक प्रविधिको प्रयोगसँगै ढिकासुस्ती रोक्न निर्देशन दिए । अबको दुई÷तीन महिनामा जनताको पक्षमा परिणाम आउने गरी काम गर्नसमेत सचिव गुरुङले निर्देशन दिए ।

“संघीय ढाँचालाई अवमूल्यन नगरी काम गर्नुपर्छ र सोहीबमोजिम मन्त्रालयको पुनःसंरचना र कानून परिमार्जन गर्नुपर्छ, नीति तथा कार्यक्रम बनाउनुपर्छ”, सचिव गुरुङले भने ।