आर्थिक

आर्थिक बर्षको गणना अब वैशाखदेखि

भक्तपुर । आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न भक्तपुर जिल्लाले वैशाखदेखि नै गणना शुरु गर्ने भएको हो । यसको तयारी जिल्लामा पनि तीव्र रुपमा भइरहेको छ ।

आर्थिक गणनाका लागि आवश्यक जनशक्ति तयार पार्न जिल्लामा ६१ गणक र नौ निरीक्षक छनोट भई ब्यासीस्थित वासु माविमा शुरु भएको तालीमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उद्घाटन गरे । उनले देशमै पहिलो पटक हुन लागेको आर्थिक गणनाले मुलुकको दिगो विकासका लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हुने विश्वास व्यक्त गरे ।

आर्थिक गणनाअन्तर्गत अन्य जिल्लामा जस्तै गणक सबै व्यावसायिक आर्थिक एकाई अर्थात् प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गरिनेछ । वैशाख र जेठ महिना आर्थिक एकाईको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने भएको छ ।

जिल्ला गणना अधिकृत सुरेन्द्र रावलले भक्तपुरमा आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक छनोट भई तालीममा सहभागी गराइएको बताए । आर्थिक गणनामा कुनै पनि व्यावसायिक आर्थिक एकाई नछुट्ने र नदोहोरिने गरी प्रशिक्षण दिइएको छ । वैशाखदेखि इन्टरनेट र कागजी प्रश्नावली फारमको प्रयोग गरी आर्थिक एकाईको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गरिने उनको भनाइ छ ।