समाचार

फुजेल घटनाका जाहेरवाला अदालतमा अनुपस्थित

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारी अदालतले उपस्थित हुन आदेश दिए पनि अदालत उपस्थित भएनन् ।

जिल्ला अदालत चितवनले गत फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो । जिल्ला अदालत चितवनका स्रेस्तेदार गेहेन्द्र पन्तले अदालतको आदेशपछि नुरप्रसाद नभेटिएपछि गोरखाको गण्डकी गाउँपालिका–३ मा रहेको सार्वजनिक चौतारीमा रहेको पिपलको बोटमा सबैले देख्ने गरी तामेली पत्र टाँसिएको बताए ।

उक्त पत्रमा चैत २५ गतेसम्म अदालतमा उपस्थित भई बकपत्र दिन मिति तोकिएको थियो । पन्तका अनुसार आज कार्यालय समयभित्र नुरप्रसाद अदालतमा उपस्थित हुनु भएन । उनको मुद्दाको पेसी सोमबार तोकिने पन्तले जानकारी दिए ।

अदालतको बन्दोबस्तीको दफा ११५ बमोजिम प्रमाण बुझ्न उनलाई अदालतले आदेश दिएको हो । जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् । जाहेरवाला अधिकारी हत्या भएका कृष्णप्रसादका दाजु हुन् ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालतले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको छ । दुईजना अदालतको सम्पर्कमा आएका छैनन् । तीमध्ये रुद्र आचार्य विदेशमा रहेको बताइँदै आइएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ मध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।

हत्या भएका अधिकारीका बुबा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो भने आमा गंगामाया अहिले पनि अनशनमानै रहेकी छन् । स्व नन्दप्रसादको शव अहिलेसम्म परिवारले बुझ्न मानेको छैन ।

तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णलाई सुराकीको आरोपमा हत्या गरिएको जनाइएको थियो । नुरप्रसाद लामो समयदेखि सम्पर्कविहीन रहेको जनाइएको छ । यस विषयमा बुझ्न खोज्दा उनले प्रयोग गर्दै आएका दुईवटै टेलिफोनमा सम्पर्क हुन सकेन ।