मनोरञ्जन

१०० डान्सबार रहेको नयाँ बसपार्कलाई प्रबर्धन गर्ने

काठमाडौँ । झण्डै एक हजार होटल तथा १०० डान्सबार रहेको नयाँ बसपार्कलाई शान्ति सुरक्षा र पुनःनिर्माणको सकारात्मक सन्देश दिइने भएको छ ।

नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको उक्त क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नयाँ वर्षमा ‘प्रथम सडक महोत्सव’मार्फत सकारात्मक सन्देश दिन लागिएको हो ।

महोत्सव आयोजक मूल समारोह समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ बसपार्क क्षेत्रका विभिन्न संघ संस्थाको आयोजनामा पहिलोपटक ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन गरौँ’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक विष्णु पोखरेलले चैत ३० र वैशाख १ को अवसर पारेर पहिलोपटक सडकमा महोत्सवका रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।

भूकम्पले जीर्ण नयाँ बसपार्क क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन महोत्सव आयोजना गर्न लागिएको बताउँदै उनले भने, “भूकम्पपश्चात् नयाँ बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घटेकोे अवस्थामा पुनःनिर्माण भइसकेको र यस क्षेत्र पर्यटकीय हिसाबले उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरेका हौँ ।”

महोत्सवमा सडकमै विभिन्न खाना तथा वस्तुका १०० भन्दा बढी कक्ष रहने र ख्यातिप्राप्त कलाकारबाट लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले देशभरबाट काठमाडौँ आउने मानिसमध्ये झन्डै ८० प्रतिशत मानिस नयाँ बसपार्क आउने भएकाले उक्त क्षेत्र सुरक्षित तथा बस्न योग्य भएको सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए ।

“ठमेलमा आएका विदेशी पाहुनालाई बसपार्क लैजान यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उनले भने ।

महोत्सवको पूर्वसन्ध्यामा आयोजक समितिको सहभागितामा यही चैत २९ गते बिहान प्रभातफेरिको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पाँच लाख जनताको सहभागिता रहने र रु ५० लाख खर्च हुने अनुमान रहेको आयोजक समितिका कोषाध्यक्ष शैलेश कार्कीले जानकारी दिए ।