अन्तर्राष्ट्रिय

म्याक्रोँद्वारा सिरियाको द्वन्द्व अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न रूसलाई आग्रह

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरिया द्वन्द्व अन्त्यका लागि सिरियाली द्वन्द्वरत पक्षलाई थप दवाव सिर्जना गर्न आग्रह गरेका छन् ।

“फ्रान्सका राष्ट्रपतिले हालैका महिनामा सिरियामा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गुमेकोतर्फ पुटिनको ध्यान आकृष्ट गर्दै रूसको सिरियामा रहेकोे प्रभावलाई पूर्णतया प्रयोगमा ल्याउन भन्नुभएको छ,” म्याक्रोँको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा बताइएको छ ।

उक्त कुराकानीमा दुई नेताले उक्त क्षेत्रमा इश्लामिक स्टेट समूहको गतिविधिलाई पुन सक्रिय हुन नदिने र सिरियामा लामोसमयदेखि रहँदै आएको राजनीतिक समस्या समाधान गर्ने लगायतका कुरामा मस्को र पेरिसबीचको नियमित छलफल आवश्यक रहनेसमेत जोड दिए ।