अन्तर्राष्ट्रिय

पैतालिस तालिबान लडाकूद्वारा आत्मसमर्पण

सरिपुल, अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने सरीपुल प्रान्तमा ४५ तालिवान लडाकूहरूले आत्मसमर्पण गरेका छन् ।

उनीहरूले आक्रमणका लागि प्रयोग गर्ने विभिन्न हातहतियारहरू पनि सरकारी सुरक्षाकर्मीलाई बुझाएको सुरक्षा अधिकारीले शुक्रबार बताएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार, पूर्व लडाकू कमाण्डर खुडा डाडको नेतृत्वमा ती लडाकूहरूले सरकारी सुरक्षाकर्मीलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

आत्मसमर्पण गरेका लडाकूहरूले तालिवान विरुद्ध नै आफुहरु लड्न तयार भएको बताएको समाचारमा जनाइएको छ ।

“खाडा डाड सहितको लडाकूहरूको टोलीले नियन्त्रणमा रहेको सिराम क्षेत्रका ११ गाँउहरु अव तालिवानको कब्जाबाट मुक्त भएका छन्,” सरी पुल प्रान्तका सैन्य कमाण्डर राहिमुल्लाह अजिमीले सिन्ह्वालाई भने ।

अफगानिस्तानको सिराम क्षेत्रमा सरकारले लडाकूहरू विरुद्धको सुरक्षा कारबाही तीब्र पारेको छ । कारबाहीका क्रममा केही लडाकू मारिएका छन् भने केही घाइते भएका छन् ।