साहित्य

सरिता अर्यालको कथासंग्रह ‘पुरुष’ सार्वजनिक

काठमाडौँ । कथाकार सरिता अर्यालको दोस्रो कथासंग्रह ‘पुरुष’ आज विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा सांसद पम्फा भुषाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, कवयत्री कुन्ता शर्मा, लेखक सरिता अर्याललगायतले संयुक्त रुपमा विमोचन गए ।

पुस्तकमाथि टिप्पणी गर्दै आयुक्त तिम्सिनाले कथामा लेखिकाले आफ्नै वरिपरि आफैँले देखेका पात्रका कथालाई सिलसिलाबद्ध रुपमा पस्केको बताए । उनले पुरुषमाथि भइरहेका घटनालाई यथार्थ रुपमा उतारेको बताए।

समीक्षक महेश पौड्यालले कथामा महिला पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथा व्यथा नै समेटिएको बताए । उनले लेखकले समाजमा घटिरहेका घटनालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको बताए।

त्यसैगरी, कथाकार अर्यालले यौन मनोविश्लेषणात्मक कुरालाई यथार्थपरक घटनालाई प्रस्तुत गरिएको बताए । उनले पुरुषको विरोधका लागि पुस्तकको नाम ‘पुरुष’ नराखिएको स्पष्ट पार्दै पुस्तकमा समाजमा पुरुषकाकारण घरमा भएको अवस्थाको बारेमा चित्रण गरिएको बताए ।

विभिन्न १६ अध्यायमा लेखिएको उक्त पुस्तकमा लेखिकाले वैदेशिक रोजगारमा पुरुष जाँदा हुने घरको अवस्था तथा लैङ्गिक विभेदका बारेमा लेखेका छन्।