राजनीति

सुशासन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

रत्ननगर, चितवन । गृहमन्त्री रामबहादुर थापाले सुशासन र जनसेवा प्रभावकारी बनाउन चितवनका सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय, चितवनमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले जनताको सेवालाई चुस्त पार्दै भ्रष्टाचारलाई रोक्नतर्फ सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

चितवन जिल्ला विभिन्न आपराधिक क्रियाकलापका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ रहेको भन्दै उनले शान्ति, सुरक्षा, सुव्यवस्था र सेवामा समेत ध्यान दिन कर्मचारी तथा सुरक्षा अधिकारीलाई निर्देशन दिए ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको शान्ति सुरक्षाको अवस्था र रणनीतिबारे गृहमन्त्री थापालाई जानकारी गराएका थिए । यस्तै, माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले चितवन निकुञ्ज र स्थानीयबीच द्वन्द्व बढ्दै गएको भन्दै समाधानका विषयमा गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । अन्य विषयगत कार्यालयका प्रमुखले आआफ्नो कार्यालयका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए ।

सो क्रममा गृहमन्त्री थापाले नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा आफ्नोतर्फबाट सहयोग रहने प्रतिबद्धतासमेत जनाए । आजै, जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

गृहमन्त्री सम्मानित

गृह जिल्ला चितवनमा गृहमन्त्री रामबहादुर थापालाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापालाई कदरपत्रसहित सम्मान गरेको हो । मन्त्री थापा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख समेत हुन् ।

सो अवसरमा गृहमन्त्री थापाले चितवन आपराधिक क्रियाकलाप गर्नेहरुको केन्द्र बन्न सक्ने भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।