कृषि

प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान

ललितपुर । व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप युवालाई अनुदान दिने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

नयाँ शुरु गरेका किसानलाई भन्दा पनि यो कार्यक्रम व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन लक्षित छ, उनले भने, “पहिले खुल्ला खेती गर्ने किसानलाई बाँसको टर्नेलमा र बाँसको टर्नेलमा खेती गर्नेलाई झुलमा खेती गराउन हामीले प्रोत्साहन गरेका हौँ ।”

विगतमा धेरै किसानलाई थोरै रकम अनुदान दिने गर्दथ्यो । तर यो कार्यक्रममा ठूलो क्षेत्रफलमा व्यवसायिक तरकारीखेती गर्ने किसानलाई रु आठ लाखदेखि रु १५ लाखसम्म अनुदान दिइने व्यवस्था गरिएको छ ।

किसानले त्यही अनुपातमा आफूले पनि लगानी गर्नुपर्ने सर्त छ । ललितपुर, काठमाडौँ, मकवानपुर, नुवाकोट, चितवान, लमजुङ, सिन्धुपाल्चोक र कैलाली गरेर नौ जिल्लाका किसानले अनुदान रकम पाएका हुन् ।

निर्देशनालयले चार फरक सर्तमा अनुदान सहयोग गरेको छ । टनेलसँगै, प्लास्टिक पोखरी बनाउन, थोपा सिँचाइ, हावामा खेती गर्नका लागि किसानलाई सहयोग गर्न लागिएको हो । उनले भने, “ यो कार्यक्रमअन्तर्गत हामीले विदेशबाट फर्किएका, ठूलो क्षेत्रफलमा खेती गरेका र प्रविधिको प्रयोग गरेको किसानलाई लक्षित गरेका छौँ ।”