समाचार

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा धनुषा भरतपुर–२ का ३० वर्षीय बुद्दलाल विक, तनहँु डुम्रे–१ का २२ वर्षीय अशोक अधिकारी, सप्तरी रायपुर–१ का ३५ वर्षीय पवनकुमार यादव, सप्तरी रायपुर–१ का २ वर्षीय कुलदीप यादव र १४ वर्षीय अंशु यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । घाइतेको गोल्डेन अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिटी रिक्साबाट लडेर एकजनाको मृत्यु

यसैगरी, सुनसरीको दुहवी नगरपालिका–३ मा सिटी रिक्साबाट लडेर बिहीबार एकजनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा दुहबी नगरपालिका–२ का ५५ वर्षीय बुद्ध कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सिटी रिक्साबाट लडेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।