अन्तर्राष्ट्रिय

दुई कोरियाका उच्चअधिकारीको बैठक हुने

सोल । उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरुको बैठक हुन लागेको हो ।

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका बीचमा पहिलो पटक यही अप्रिल २७ तारिखका दिन भेटवार्ता हुन लागेको छ ।

दुई कोरियाबीचको संघर्ष अन्त्य गर्नका लागि भन्दै आयोजना गरिएको उत्तर कोरिया शिखर सम्मेलनका क्रममा उहाँहरुको भेटवार्ता हुने भएको हो ।

त्यही सम्मेलनको तयारीका लागि व्यवस्थापकीय तहको बैठक बिहीबार बस्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

मर्यादाक्रम, सुरक्षा व्यवस्था, सञ्चारमाध्यमको व्यवस्थापन लगायतका विषयमा यो बैठकमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा सहभागी हुने नेता किमको यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि बैठक केन्द्रीत हुने भएको छ ।

दुबै देशको सीमानामा पर्ने दक्षिण कोरियातर्फको पान्मुन्जोममा रहेको पिस होममा शिखर सम्मेलन हुने तय भएको छ ।