शिक्षा

कला प्रदर्शनीको पहिलो दिन चार लाख आम्दानी

काठमाडौँ । विद्यालयको सहयोगका लागि आयोजना गरिएको कला प्रदर्शनीमा आज पहिलो दिनमै रु चार लाख बराबरको कलाका सामग्री बिक्री भएको छ ।

टेकुमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘द होप एक्जिवेसन अफ प्लानिङ् फर चिल्डेन’ नामक कार्यक्रममा आज पहिलो दिनमै उक्त रकम बराबरको कला बिक्री भएको प्रदर्शनीमा सहभागी कलाकार जीवनराज उपाध्यायले राससलाई जानकारी दिए ।

प्रदर्शनीमा कलाकारहरु गोविन्द डंगोल, शंकरराज सिंह, लोक चित्रकार, नरेश सैजु, विक्रम शाह र जीवनराज उपाध्यायसहित ९० कलाकारको सहयोगमा १०० कलाकृति राखिएका छन् । परम्परागत तथा धार्मिक सम्पदासँग जोडिएका र समसामायिक चित्रहरु प्रदर्शनीमा राखिएका छन् । यही चैत २८ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा रु तीन हजारदेखि रु एक लाखसम्मका कलाकृति बिक्रीमा राखिएका छन् ।

सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा व्यवस्थाका लागि अध्यक्षकोष स्थापना गर्न प्रदर्शनी गरिएको बताइएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको तर्फबाट यस विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।