राजनीति

श्वेतपत्रमा गलत आँकडा देखाएर भ्रम छरिएको छः नेता पौडेल

दमौली, तनहुँ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्रीले संसद्मा पेश गरेको श्वेतपत्रमा अर्थतन्त्रको गलत आँकडा देखाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

घिरिङ गाउँपालिका–२ मा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले २०४८ सालपछि कमजोर अर्थतन्त्रलाई कांग्रेसले अहिलेको अवस्थामा ल्याएको जिकिरसमेत गरे ।

जनतालाई विभिन्न आश्वासन बाँडेर वाम गठबन्धनले मत पाए पनि जनताको माग र चाहना पूरा गर्न नसक्ने विचार उनले व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस तनहुँका कावा सभापति जीतप्रकाश आले, कांग्रेस नेता कृष्णराज पण्डितलगायतले कांग्रेसले चुनावी हारको समीक्षा गर्दै आगामी दिनमा सक्रिय र सशक्त ढंगबाट अगाडि बढ्नुपर्ने बताए ।