राजनीति

हिन्दू पर्व र एकता दिवसमा बिदा माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले सचिवालय समितिमा तीन सदस्य थप गरेको छ ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रवक्ता राजेन्द्र गुरुङ(ओखलढुंगा) सहायक महामन्त्री विजयकला राई (खोटाङ) र नेता कृष्णबहादुर राउत (काठमाडौँ) लाई समितिमा मनोनयन गरेको छ ।

प्रदेशस्तरीय राजनीतिक गतिविधि सञ्चालनका लागि प्रदेश नं १ र ७ मा क्रमशः दुई र एक समूह गरी तीन टोली खटाउने निर्णय पनि गरिएको प्रवक्ता गुरुङले जानकारी दिए । बैठकले महामन्त्रीद्वय ध्रुबबहादुर प्रधान र राजाराम श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक र सचिवालयसम्बन्धी प्रतिवेदन पारित गरेको छ । राष्ट्रिय एकता र प्रजातन्त्र दिवस, घटस्थापना, कृष्णजन्माष्टमीलगायत पर्वमा सरकारले बिदा कटौती गरेकामा बैठकले असन्तोष व्यक्त गर्दै शदियौदेखि चलिआएको हिन्दू परम्परा र संस्कृतिसँग जोडिएका बिदा र एकता दिवसको बिदा कायम गराउन माग गरेको छ ।

यसैबीच एकीकृत राप्रपा (राष्ट्रवादी)का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीले पृथ्वीपथ, हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका बारेमा विचार नछाडेको स्पष्ट गरेका छन् ।