कृषि

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर । हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ ।

बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो ।

असिना पानीले चाँगुनारायण नगरपालिकाको दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीमा लगाएको काउली, बन्दाकोपी, आलु, प्याज, लसुन, सिमी, बोडी, फर्सी, काक्रो, घिरौलालगायत नगदेबाली क्षति पु¥याएको किसानले बताएका छन् ।

ताथलीका कृषक सुभद्रा बस्नेतले यहाँ लगाएको आलु र गहुँ कामै नलाग्ने गरी असिना पानीले नष्ट गरेको गुनासो गरे । झौखेलका रामसुन्दर श्रेष्ठले यहाँका किसानले वर्षौंदेखि खेती गर्दै आएको नगदेबालीका रुपमा लगाइएको सिमी, बोडी, फर्सी, काक्रो, घिरौँला, काउली कामै नलाग्ने असिनाले नष्ट गरेको छ भने । छालिङका सुमन दथेपुथेले एक फिट जम्ने गरी परेको असिनाले तरकारी र भित्र्याउन ठिक्क परेको गहुँ बाली पूर्णरुपमा नष्ट बनाएको बताए ।

असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि सम्बद्ध कृषकले क्षतिपूर्ति माग गरेका छन् । अधिकांश किसानले असिनाले लाखौँको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै किसानलाई राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुंगानाले असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पु¥यायो भन्ने जानकारी आए पनि कहाँ कति कति क्षति भयो भन्ने विवरण संकलन नगरेसम्म भन्न नसकिने बताए ।

कृषि विकास कार्यालयको भन्दा पनि अब नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने र किसानलाई क्षतिपूर्ति दिने काम गर्नुपर्ने बताउँदै उनले नगरपालिकामा कृषि कार्यालयको जिम्मेवारी गइसकेको अवस्थामा नगरपालिकाले क्षतिको विवरण संकलन र व्यवस्थापनको काम गर्नुपर्ने उनको भनाइ थियो ।