पु.समाचार

महाकालीमा अन्त्येष्टि घाट बन्दै

कञ्चनपुर। भीमदत्त नगरपालिका–१२ ऐरीमा अन्त्येष्टि घाट बनाउने प्रक्रिया शुरु गरिएको छ । महाकाली नदीको ऐरीघाटमा निर्माण हुने अन्त्येष्टि घाटका लागि ठेक्का आह्वान गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि रु चार करोड ५० लाखको ठेक्का आह्वान गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले डिभिजन कार्यालयले ठेक्का आह्वान गरी अन्त्येष्टि घाट निर्माणको प्रक्रिया शुरु गरिएको बताए ।

तीन वर्षसम्म सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमअन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ । यसबाहेक कार्यक्रमअन्तर्गत विभिन्न वडामा सडक कालोपत्रेका योजना छन् ।

भीमदत्त नगरपालिकाको शहरी विकास शाखाका इन्जिनियर गोरखबहादुर सिंहले गुरुयोजना बनाएर अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताए । अन्त्येष्टि घाट कस्तो बनाउने भन्ने गुरुयोजना तयार गरी टेण्डर गरिएको छ उनले भने, “योजनाअनुरुप घाट निर्माण कार्य शुरु हुन्छ ।”

चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चार चार घर हुने गुरुयोजनामा उल्लेख गरिएको छ । यसैगरी, हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाललगायतका संरचना निर्माण गर्ने योजना छ ।

महाकाली परमधाम शान्ति घाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणको सपना पूरा हुन लागेको बताए ।

जोशीको नेतृत्वमा ब्रह्मदेवदेखि झोलुङ्गे पुलसम्म विभिन्न स्थान घाट निर्माणका लागि हेरिएका थिए । स्थानीयवासीको विरोध र नदीको कटानले अन्य स्थानमा सम्भव नभएपछि पछिल्लो पटक ऐरीघाटमा घाट निर्माण हुन लागेको हो ।

भारतीय एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशीलगायतले घाट निर्माणका लागि अभियान चलाएका थिए । विसं २०६७ मा महाकाली परमधाम शान्ति घाट निर्माण समिति गठन गरिएको थियो ।