पर्यटन/संस्कृति

ढोरपाटन अवलोकन भ्रमण सम्पन्

पोखरा । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि शुरु ढोरपाटन अवलोकन भ्रमण सकिएको छ ।

ढोरपाटन र आसपासका क्षेत्रका पर्यटकीय सम्भावनालाई उजागर गर्दै तिनीहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वको ३० सदस्यीय टोली आइतबार पोखराबाट प्रस्थान गरेको थियो ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका महासचिव हरिराम अधिकारीका अनुसार भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, प्रदेशसभा सदस्यद्वय चन्द्रबहादुर बुढा र टेकबहादुर घर्ती, पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं संघका पूर्व अध्यक्ष केदारनाथ शर्मा, संघका पूर्व अध्यक्षद्वय ओमप्रकाश पाण्डे र पोमनारायण श्रेष्ठलगायतको सहभागिता थियो ।

अवलोकन भ्रमणका क्रममा बागलुङको बुर्तिवाङ, ढोरपाटन र पाण्डवखानीमा अन्तरक्रिया कार्यक्रम गरिएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

उनका अनुसार भ्रमण टोलीले पर्वत र बागलुङ जोड्ने १५६ मिटर उचाइ र ३४७ मिटर लम्बाइको बडागाउँ–कैया झोलुङ्गे पुल, पाल्पास्थित रुरु क्षेत्र जोड्ने रुद्रावती गंगाको उद्गमस्थल रुद्रताल, ढोरपाटनस्थित ढोरबराह मन्दिर एवं २२ धारा र उत्तरगंगा धामको अवलोकन गरेको छ ।

त्यस्तै, ताराखोला गाउँपालिका वडा नं १ स्थित गाईघाटको झरना, गल्कोट नगरपालिका वडा नं ५ हरिचौरस्थित ऐतिहासिक गल्कोट दरबारलगायत क्षेत्रको अवलोकन गरिएको थियो ।

भ्रमणकै क्रममा पाण्डबखानीका स्थानीयवासीले परम्परागत घाटु र सोरठी नाच देखाइएको कार्यक्रम संयोजक कुलचन्द्र शर्माले जानकारी दिए।

भ्रमणका क्रममा ढोरपाटन र आसपासका क्षेत्रमा पर्यटकीय विकासका अत्यधिक सम्भावना रहेर पनि अपेक्षित विकास हुन नसकेको पाइएको बताउँदै अध्यक्ष पोखरेलले पर्यटन सम्बद्ध सबै निकायसँगको सहकार्यमा यहाँको विकासलाई अघि बढाउन सकिने धारणा राखे ।
भ्रमणका विषयवस्तुलाई समेटेर संघले प्रतिवेदन तयार गर्ने उनले बताए ।