कृषि

सबैभन्दा कम उचाइमा चौँरी पाल्न सफल सुरेश थकाली

मनाङ । जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा चौँरीपालन शुरु गरिएको छ ।

अक्सर गरेर चार हजार मिटरभन्दा माथि पालिने चौँरी अहिले करीब दुई हजार मिटर उचाइमा राखेर पालेको मनाङ नासोङ–४ ओडारगाउँका चौँरीपालक सुरेश थकालीले बताए। बेमौसममा हिमपात हुने र हिउँले खाएर घाँस उत्पादन नहुने र हिमपातका कारण चौँरी मर्ने हुनाले विकल्पका रुपमा कम उचाइमा ल्याएर पालेको उनको भनाइ छ ।

विगत १० वर्षदेखि चौँरी पालन शुरु गरे पनि निकै कठिनाइका बाबजुद हाल आफू सफल भएको थकालीको भनाइ छ ।

हिमालको काखमा बस्ने चौँरी आफ्नै पाखापखेरामा पालेर आफ्नै हातले बनाएको दाना खुवाउछन्, सुरेस थकाली । प्रायः गरेर चार हजार मिटरभन्दा माथि रहने चौँरी दुई हजार मिटरमा राख्दा सहज त हुँदैन नै तर पनि आफूले जोखिम मोलेर भए पनि एउटा परीक्षण गरेको र सफल भएको उनको भनाइ छ । शुरु शुरुमा त बढी गर्मीका कारण चौँरी बिरामी परे, कति त मरे पनि तर हरेश खाइनँ । उनी भन्छन्, “मानिसले हरेश खानु हुन्न, कामले काम सिकाउँछ ।”

मैले शुरुमा रु १५ लाखमा १५ वटा चौँरीबाट पालन शुरु गरेको हो । त्यतिखेर १० वटा मरे, जसले हतोत्साहित पनि भएँ, तर मनमा आँट र विश्वासका साथ लागिरहेँ जसले अहिले सफल भएको छु । कक्षा १२ सम्म पढेका थकाली अहिले ३४ वर्षका भए । गरीब परिवारमा जन्मेका थकालीले त्यसभन्दा माथि पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न नपाएको गुनासो सुनाए ।

बिहान उठेदेखि चौँरीलाई दाना बनाउने र गोठमा जाने चौँरीलाई दाना खुवाउने उनको दैनिकी बनेको छ । उनी भन्छन् अहिले आफूसँगका युवा विदेशिएको अवस्थामा आफू गाउँमै बसेर केही उदाहरणीय काम गर्ने सोचले यो पेशा अँगालेको बताउँछन् ।

बाबु आमाले आफूलाई होटल व्यवसाय गर्न प्रोत्साहन गरेर केही समय त्यतातिर लागेपनि आफ्नो इच्छा पशुपालनमा भएकाले होटल व्यवसाय छोडेर चौँरीपालनमा लागेको उनी बताउँछन् ।

हिमालको काखमा रमाउने चौँरीलाई आफ्नै पाखा पखेरामा ल्याउने उनी एक सफल र उदाहरणीय व्यक्ति हुन् । नेपालमा कम उचाइमा चौँरी पाल्ने एकमात्र व्यवसायी सुरेश थकाली आफनो व्यवसायमा सफल भएका छन् ।

हाल उनीसँग ६५ वटा चौँरी छन् । उनी चौँरीको दूधबाट नौनी, छुर्पी, चिज, बनाउनाका साथै चौँरीको ऊन कातेर फेर्पा, राडीपाखी, नाम्लो, पेटीजस्ता सामग्री निर्माण गर्छन् । चौँरीका पुच्छर नेवारी समुदायलगायत अन्यले पनि धार्मिक कामका लागि प्रयोग गर्छन् । यस्ता सामग्री बिक्री वितरण गरी सम्पूर्ण खर्च कटाएर वर्षको रु पाँच, छ लाख आयआर्जन गर्ने गरेको उनको भनाइ छ ।

जलवायु परिवर्तनले हिमाली भेगमा बेमौसममा हिउँ पर्ने र चरीचरनको अभाव हुने भएकाले कम उचाइमा चौँरीलाई बानी लगाउन आफूले २,००० मिटर उचाइमा पालेको उनले बताए । अहिले उनीलगायत ओडारगाउँका अन्य चौँरीपालक किसानले उनको देखासिकी गर्न थालेका छन् ।

कसैले मासुका लागि मात्र पालेका छन् भने कसैले व्यावसायिक रुपमा पनि पाल्न थालेका छन् । ओडारगाउँमा हाल ३०० को हाराहारीमा चौँरी पालिएको जिल्ला कृषि कार्यालय, मनाङले जानकारी दिएको छ ।