शिक्षा

ल क्याम्पसः तालाबन्दीबाट भर्ना अवरुद्ध

काठमाडौँ । त्रिवि कानुन संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ ।

डीन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागु गरेपछि त्यसविरुद्ध अनेरास्ववियुले तालाबन्दी गरेका कारण भर्ना प्रक्रिया रोकिएको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिए । ‘‘यतिबेला भर्ना प्रक्रिया सकिएर पढाइ सञ्चालन गर्ने समय हो’’, उनले भने,‘‘तर डीन कार्यालयमा तालाबन्दी भएका कारण सबै रोकिएको छ ।’’

डीन कार्यालयले ल क्याम्पसमा स्नातक तहको प्रथम वर्षका लागि पाँच सय जनाको दरबन्दी निर्धारण गरेपछि अनेरास्ववियु क्याम्पस कमिटीले ताला लगाएको हो । यसअघि चार हजार २३८ विद्यार्थी भएकामा यस पटकदेखि डीन कार्यालयले क्याम्पसको क्षमता हेरेर पाँच सयको दरबन्दी निर्धारण गरेको छ ।

डीन कार्यालयले नयाँ विद्यार्थी भर्नाका लागि दरबन्दी निर्धारण गरेर प्रवेश परीक्षा लिन गत फागुन १४ गते सूचना जारी गरेसँगै ताला लगाइएको हो । ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजासमेत प्रकाशन हुन पाएको छैन । क्याम्पस प्रमुख पराजुलीले तालाबन्दीका कारण शैक्षिकसत्र नै खल्बलिने बताए । स्नातक प्रथम वर्षको चैतदेखि नै पढाइ सञ्चालन गर्ने क्याम्पसको तयारी थियो ।

डीन कार्यालयले त्रिविका पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । न्यौपानेले ताला खोल्ने विषयमा दुई पटक छलफल भए पनि निष्कर्षमा नपुगिएको बताए । अनेरास्ववियु क्याम्पस कमिटी सदस्य हरिप्रसाद पंगेनीले तोकिएको दरबन्दी अपुग भएकाले तालाबन्दी गरिएको बताए । पछिल्लो समय कानुन पढ्ने विद्यार्थीको संख्यमा वृद्धि भइरहेको छ ।