राजनीति

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् ।

बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, “यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैनन्, देशको अहितमा कुनै काम गरिँदैन, विगतका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइने छ ।” प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।

सो अवसरमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो ।

पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए । नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले पुरानो मानसिकता राखेर २१औँ शताब्दीको सम्बन्ध विकास गर्न नसकिने धारणा राखेका थिए ।

पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । उनले थपे, “नेपाल–भारत सम्बन्ध भाइ–भाइको हैन, मित्र–मित्र जस्तो हुनु हुनुपर्छ ।”

पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अप्ठ्यारोमा परेको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको उल्लेख गर्दै भने, “भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनुपर्छ ।”

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेको उच्च व्यापार घाटालाई कम गराउने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताए ।