राजनीति

ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको जिल्ला अधिवेशन स्थगित भएको छ ।

यही चैत १४ गते देशभरका अधिवेशन भइरहँदा काठमाडौँको अधिवेशन चैत २१ गते गर्ने भनिए पनि प्रतिनिधि विवादका कारण स्थगित भएको हो ।

विभिन्न श्रमिक क्षेत्रका २४ संस्थाका दुई हजार ४०० महाधिवेशन प्रतिनिधि आबद्ध संस्थामा होटल क्षेत्रको प्रतिनिधि विवादका कारण स्थगित गरिएको नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए ।

नेपाल ट्रेड युनियन केन्द्रको निर्णयअनुसार अधिवेशन स्थगित गरिएको भट्टराईले बताए । नेपाल ट्रेड युनियन काँग्रेसको काठमाडौँमा झण्डै ७० हजार श्रमिक आबद्ध छन् ।

अधिवेशन आगामी चैत २६ गते सोमबारलाई तोकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हुँदा नयाँ नेतृत्वका लागि देवीप्रसाद भुसाल र भगवती फुयाँल अध्यक्षको प्रतिस्पर्धामा छन् ।