पर्यटन/संस्कृति

विष्णु कुण्डको जीर्णोद्धार शुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा रहेका प्रसिद्ध धार्मिक मल्लकालीन विष्णु कुण्डको जीर्णोद्धार शुरु भएको छ ।

स्थानीय युवाले मध्यपुर थिमिभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवं धार्मिक पोखरीको संरक्षण अभियान शुरु गर्दै विष्णु कुण्डको जीर्णोद्धार शुरु गरेका हुन् ।

थिमिका युवाले विष्णु कुण्ड पोखरी संरक्षण शिविर समिति नै निर्माण गरेर सरसफाइ एवं जीर्णोद्धार कार्य शुरु गरेको समितिका अध्यक्ष उज्जव श्रेष्ठले जानकारी दिए ।

बिस्केट जात्रा अगाडि नै पोखरीलाई मल्लकालीन स्वरुपमै फर्काउने गरी प्रत्येक शनिबार पोखरी सफाइ शिविर सञ्चालन गरे पनि गत शनिबारदेखि भने प्रत्येक दिन बिहान स्थानीय युवाको टोलीले पोखरीको सरसफाइ एवं जीर्णोद्धार शुुरु गरेको उनले जानकारी दिए ।

मल्लकालमा निर्माण भएको भनिएको उक्त पोखरीको सरसफाइ एवं संरक्षण नहुँदा पोखरी पुरिनुका साथै विभिन्न झारले जेलिएको थियो ।

युवाले पोखरीको झार हटाउने, पुरिएको पोखरी सफा गर्ने कार्य सम्पन्न गरेर पोखरीमा जाने खुट्किला निर्माण, भत्किएको पर्खालको पुरानै (मल्लकालीन) अवस्थामा जीर्णोद्धार कार्य गरिरहेको समितिका सचिव विश्व श्रेष्ठले जानकारी दिए ।

विसं २०५४ मा नगरपालिकाले एक पटक सफा गरेको यो पोखरी त्यसपछि संरक्षणको अभावमा जीर्ण बनेर पुरिएको थियो । पोखरीलाई आगामी दिनमा संरक्षण गर्न पोखरी नजिकै रहेको राजकुलोमा ह्यूमपाइप राख्ने र पोखरीको संरक्षणका लागि वरिपरि पर्खाल लगाइने भएको छ ।

यस कुण्डमा गठे मंगल अर्थात् घण्टा कर्णका दिन बिहान स्नान गरेमा विषम ज्वरो अर्थात् टाइफाइट निको हुने तथा बालबालिकालाई स्नान गराएमा बालबालिकाको रुन्चे पनि निको हुने जनविश्वास रहेको पोखरी संरक्षणमा जुटेका स्थानीयवासी विमेश श्रेष्ठले जानकारी दिए ।

विगतमा मध्यपुरथिमिको पौडी खेल्ने र पौडी सिक्ने एकमात्र यो कुण्ड छ फिट गहिराइमा जीर्णोद्धार हुने भएको छ ।

जीर्णोद्धारका लागि मध्यपुरथिमि नगरपालिकाले रु ३३ लाख अनुदान सहयोग गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । धार्मिक एवं ऐतिहासिक महत्व रहेको पोखरी संरक्षणका लागि रकम प्रदान गरेको जानकारी दिँदै उनले मध्यपुरथिमि नगरपालिकाभित्रका ऐतिहासिक पोखरीको संरक्षणमा चासो दिएको उनको भनाइ छ ।

नगरपालिकाको सहयोगमा २० प्रतिशत जनश्रमदानमा पोखरीको जीर्णोद्धार भएको र युवाले थिमिको दुईपोखरीलगायत अन्य पोखरीको संरक्षण अभियानसमेत शुरु गरेको छ ।