पर्यटन/संस्कृति

भैरवनाथको रथ निर्माण अन्तिम चरणमा

भक्तपुर । बिस्का जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गते शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने गुठी संस्थान भक्तपुरले जनाएको छ ।

रथ निर्माणका लागि बाराको सामुदायिक वनबाट सान्दान जातको काठ ल्याइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । “सान्दान काठ लोपोन्मुख र संरक्षित जातको काठ हो । यो जहीँतहीँ पाइने काठ होइन । यो काठ ल्याउन मन्त्रिपरिषद्ले विशेष निर्णय गरिएको छ,” उनले भने ।

यस वर्ष भैरवनाथ र भद्रकालीको रथमा छाना, पाङ्ग्रा अड्काउन चाहिने अँसी (धुरा), दलिन, चुकुल र थाम नयाँ निर्माण गरिएको छ । जात्रा अवधिभर रथलाई बिग्रिन नदिन रथका आठ वटा छाना, चार वटा अँसी (धुरा), गःद्ययो चार वटा, सिंख्व एक र थाम पाँच वटा नयाँ बनाइएको रथ निर्माण कार्यका नाइके प्रेमलाल शिल्पकारले जानकारी दिए ।

रथ निर्माणका लागि रु २० देखि २५ लाख खर्च हुने अनुमान गरिएको छ । रथ निर्माणसँगै जात्राका लागि आवश्यक अन्य सामग्रीसमेत जुटाइसकेको प्रमुख सुवेदीले बताए । “यस वर्षको जात्राका लागि रथ तान्न मनिलाको डोरी, लिंगो उठाउन धागोको डोरीसमेत ल्याइसकेको छ,” उनले भने – “यसका अलावा जात्रासँग सम्बन्धित रकमी र दरबन्दी माग अनुसारको निकासा भइरहेको छ ।”