खेलकुद

मेयर कप फुटबल प्रतियोगिता शुरु

चौतारा । प्रथम चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप फुटबल प्रतियोगिता आजबाट यहाँ शुरु भएको छ । सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगितामा काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुपाल्चोकसहित १७ समूहले भाग लिएका छन् ।

चौताराको टुँडिखेलमा शुरु भएकोे सो प्रतियोगिता नक आउटका आधारमा खेलाइने छ । प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

आज भएको उद्घाटन खेलमा काठमाडौँको एन्फा अन्डर सिक्सटिनले चौतारा युवा क्लबलाई एकका विरुद्ध आठ गोलले पराजित गरेको छ । भोलि हुने दुई चरणको खेलमा चार समूहको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको विजयी समूहलाई नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता समूहलाई नगद रु एक लाख र प्रत्येक खेलका विजेतालाई नगद रु पाँच हजार र उपविजेतालाई नगद रु तीन हजार प्रदान गरिनेछ ।

त्यसैगरी उत्कृष्ट डिफेण्डर, उत्कृष्ट प्लेएर र स्कोररलाई समेत ४२ इन्चको एलइडी टिभी र मेडल प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।

खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले गरेका थिए ।