राजनीति

सरकारले औद्योगिक विकास गर्नुपर्छ – अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा विकास र समृद्धिका लागि सरकारले औद्योगिक विकास तथा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतमा करीब एक साता लामो स्वास्थ्योपचारपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष राणाले अब देश विकासका लागि युवालाई उत्पादनमा क्रियाशील बनाउनुपर्ने बताए ।

भ्रमणका क्रममा काँग्रेस आइका वरिष्ठ नेता करनसिंह तथा पूर्व परराष्ट्र मन्त्री नटवर सिंहसँग भेटी द्विपक्षीय हितका विषयमा छलफल भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

यसैबीच पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक यही चैत २२ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा बस्ने प्रवक्ता राजेन्द्र गुरुङले बताए ।

उक्त बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्थाको समीक्षाका साथै प्रादेशिक संरचनाअनुसार संगठनको सुदृढीकरणबारे छलफल गरिनेछ । वैचारिकरुपमा निकट रहेका विभिन्न राप्रपासँग कसरी एकीकरण गरी बलियो दल निर्माण गर्न सकिन्छ भन्नेबारेसमेत छलफल हुनेछ ।