समाचार

प्रदूषण रोक्न इकाइ गठन गरिने

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाइ गठन गरेर काम थालेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकैरुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाइ’ गठन गरेको हो । तत्कालका लागि इकाइको नेतृत्व वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका सचिव प्रकाश माथेमाले जानकारी दिए ।

“मन्त्रीको निर्देशनमा धुलो नियन्त्रण इकाइ’ गठन गरेका छौँ”, माथेमाले भने, “अब धुलो नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।” वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको भन्दै सरकार संविधानप्रदत्त नागरिकका हकबारे सचेत रहेको बताए ।

उनले राजधानीको धुलोका कारण सर्वसाधारणले कष्टपूर्ण जीवन बिताउनु परेकोबारे आफू जानकार रहेको र उक्त अवस्थाको यथाशक्य छिटो अन्त्य गर्ने गरी काम थालिने प्रतिबद्धता जनाए ।

उपत्यकामा धुलो र धुवाँ फैलनुका कारणबारे आफ्नो निर्देशनमा वातावरण विभागले अध्ययन प्रतिवेदन तयार पारेको जानकारी दिँदै उनले प्रतिवेदनले औँल्याएका समाधानका उपाय अवलम्बन गरेर जनतालाई धुलो÷धुवाँमुक्त वातावरण बनाउन तयार रहेको बताए ।

धुलोको प्रमुख स्रोत सडक आयोजना निर्माणमा भइरहेको ढिलाइ भएकाले आफूले सरोकारवाला सबै निकायलाई छलफलमा बोलाएको जानकारी पनि मन्त्री बस्नेतले दिए । उहाँले राजधानी उपत्यकामा मास्क लगाएर हिँड्ने अवस्थाको सकेसम्म छिटो अन्त्य गरिने उल्लेख गरे ।