पु.समाचार

त्रिशूली–ककनी–बालाजु सडकखण्डअन्तर्गतको बम निष्क्रिय पारियो

नुवाकोट । त्रिशूली–ककनी–बालाजु सडकखण्डअन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका–११ अमारेमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आज आह्वान गरेको नुवाकोट बन्दलाई लक्ष्य गरी बिहान राखेको बमलाई श्रीनाथ गण देवीघाटबाट गएको सेनाको टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नुवाकोट बन्द आह्वान गरेको जनाएको छ । पार्टी समर्थित जनपरिषद् नुवाकोटका अध्यक्ष विन्तोष सिलवाल ‘अशोक’लाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा जिल्ला बन्द गर्नुपरेको नेकपा जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले जानकारी दिए ।

बन्दका कारण जिल्लामा सञ्चालन हुने यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना तथा बजार क्षेत्र प्रभावित बनेको छ ।

पक्राउ परेका अशोकलाई गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।