पर्यटन/संस्कृति

विरेठाँटीमा क्यानोनिङ प्रतियोगिता

पोखरा । पर्यटकलाई झरना देखाउनेमात्र नभई साहसिक खेल खेलाएर पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ विरेठाँटीमा क्यानोनिङ गरिने भएको छ ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित पर्यटकीयस्थल विरेठाँटीको पनेरी झरनामा यही चैत २९ देखि वैशाख १ गतेसम्म तीनदिने क्यानोनिङ प्रतियोगिता हुने भएको हो ।

वीरेठाँटी र पोखरा क्यानोनिङद्वारा संयुक्त रुपमा आयोजना गर्न लागिको सो प्रतियोगितामा मुलुकका ६० जना क्यानोनिङ गाइडको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

डोरीको सहायताबाट ५० मिटर उचाइको पानीको झरनासँगै झर्ने सो प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कारको व्यवस्था गरिएको पोखरा क्यानोनिङका संयोजक राम गुरुङ बताउछन् ।

छ महिनाअघिदेखि सञ्चालनमा आएको सो प्रतियोगगिता अन्तर्गत झरनामा मासिक सरदर ३० जना साहसिक खेलमा सहभागी बन्ने गरेका छन् । गाइडलाई सम्बन्धित निकायबाट अनुमतिपत्रको व्यवस्था गर्न नसक्दा प्रचुर सम्भावना रहेर पनि साहसिक पर्यटन प्रवर्धनमा सोचेजस्तो गति लिन नसकेको उनको भनाइ छ ।

नेपाल लोकतान्त्रिक खेलकूद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनका अनुसार क्यानोनिङ अनुमतिपत्रका लागि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (मासम) सँग छलफल भइरहेको छ ।