आर्थिक

६१औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

धादिङ । जिल्ला सहकारी संघको आयोजनामा धादिङबेँसी बजारमा आज बिहान प्रभातफेरी गरी ६१औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

जिल्ला सहकारी संघका उपाध्यक्ष गंगादत्त तिमिल्सिना र नीलकण्ठ नगरपालिकाका प्रमुख मनराज भण्डारीले निम्न आय भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउन र स्वावलम्बी भई जीविकोपार्जन गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र स्थानीय तहको जिम्मामा सहकारी संस्था आइसकेपछि सवलीकरण गरी उत्पादनमुखी कार्यमा लाग्न अभिप्रेरित गर्ने बताए ।

डिभिजन सहकारी कार्यालयका निमित्त कार्यालय प्रमुख महेश्वर ढकालले जिल्लाका ४२१ सहकारी संघसंस्थाको कागजात गाउँपालिका र नगरपालिकामा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताउँदै अबदेखि सहकारी संस्थाको नियमन गर्ने अधिकार स्थानीय तहमा भएकाले सहकारीको विकासमा अझ बल पुग्ने विश्वास प्रकट गरे ।