पु.समाचार

विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार

नरबहादुर रिजाल /दैलेख । हिमालय आधारभूत विद्यालय, तीजडाँडामा दलित भान्सेले पकाएको विद्यालयको दिवा खाजा नखाने भनी गत महिना उत्पन्न विवाद सहभोजपछि समाधान भएको छ ।

विवाद समाधान भएपछि पनि अझै केही बालबालिकाले दिवा भोज नखाएको भन्ने गुनासो आएपछि स्थानीय सरकारले विभेद हटाउनका लागि वडाध्यक्ष रंग तामाङको नेतृत्वमा सहभोजको आयोजना गरेको थियो । प्रजिअ विश्वराज न्यौपाने सहभोजका लागि स्थानीय तह, जिल्ला समन्वय समिति, विद्यालयका शिक्षक र अभिभावक तथा जिल्लास्तरमा रहेका अधिकारकर्मीसहितको टोली लिएर विद्यालयमा पुगेको थियो ।
विद्यालयमा सबै मिलेर भोजन तयार पारेर सबैले संयुक्त रुपमा भोजन ग्रहण गरे । विवाद भएको विद्यालय (चामुण्डाको तीजडाँडास्ती) मा औपचारिक कार्यक्रम पनि सम्पन्न भयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेद हटाउन र व्यावहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउदै कानूनले दण्डित गरेका विषयबारे नागरिकले बुझ्नुपर्ने र विभेद गर्न नहुने सुझाव दिए । जिससका उपप्रमुख लक्ष्मीकुमारी शाहले सभ्य नागरिकको बसोवास भएका ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायत समस्या हुनु दुःखदायी घटना भएको बताए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेकामा जोड दिए ।

प्रजिअ न्यौपानेले विभेद गर्ने अभिभावक वा जो कोहीलाई कारबाही हुने चेतावनी दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर तारामीले व्यवहारमै परिवर्तन गर्नुपर्ने कतिपय कुरीति र कुसंस्कारका लागि अझै गाउँगाउँमा बहस र पैरवी हुनुपर्ने बताउँदै जनप्रतिनिधि र अधिकारकर्मीले यसबारे जनचेतना अभियान फैलाउन योजना निर्माण गरेर लाग्नुपर्ने सुझाव दिए ।