स्वास्थ्य

मिर्गौला पीडित जिसीलाई सहयोग

गुल्मी । गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । ‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद रु एक लाख ३८ हजार संकलित आर्थिक सहयोग रकम सोसाइटीका अध्यक्ष सन्तोष गिरी र कोषाध्यक्ष सूर्यबहादुर खातीले संयुक्तरुपमा मिर्गौला पीडित जिसीलाई हस्तान्तरण गरेका थिए ।

मिर्गौला पीडित जिसीको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीबाट संकलन गरी जुटाएको नगद आर्थिक सहयोग जिसीको स्वास्थ्योपचारमा थप बल पुगोस् भनेर सहयोग गरेको सोसाइटीका कोषाध्यक्ष खातीले जानकारी दिए ।

दुवै मिर्गौला फेल भएका पीडित जिसीले काठमाडौँको ग्राण्डी हस्पिटलमा उपचार गराउँदै आएका छन् । जिसीले भने, ‘आफ्नो स्वास्थ्योपचारमा सरकारका तर्फबाट उचित उपचारको व्यवस्था मिलाइदिने हो भने उपचारमा सहज हुने भन्दै आफ्नोे स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरे ।’