समाचार

अनुसन्धानका लागि छानबिन समिति

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ स्थित लोकाहा खोलाको पुलबाट सिमेन्ट चोरी भएको विषयको बारेमा अनुसन्धान गर्नका लागि कावासोती नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

कावासोती नगरपालिकाअन्तर्गत रहेको सुशासन समितिका संयोजक छविलाल महतोको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा आनन्द श्रेष्ठ र शिवप्रसाद पाण्डे रहेका छन् । । समितिले तीन दिनभित्र घटनाको विषयमा छानबिन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेश गर्नेछ ।

समितिले घटनासँग सम्बन्धित सरोकारवाला व्यक्ति, स्थानीयलगायतसँग सोधपुछ गरिसकेको संयोजक महतोले बताए ।

आठसय ५२ घर पूर्णरुपमा क्षति

यसैबीच, २०७२ सालको भूकम्पबाट नवलपरासी पूर्वी जिल्लामा ८५२ घर पूर्णरुपमा क्षति पुगेको तथ्यांक आएको छ । त्यसको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण आयोगबाट अनुदानमा प्राप्त रकमबाट भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न आवश्यक देखिएको हो ।

नवलपरासी पूर्वी जिल्लालाई नयाँ ढंगबाट विकास गर्नका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक रहेको देखिएको छ । भूकम्पबाट कसरी जोगिन सकिन्छ तत्काल कस्ता सुरक्षा विधि अपनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनुपर्ने अवस्था देखिएको छ ।

नवलपुरमा अझै पनि नयाँ प्रविधि अपनाएर घर नबनेको हुँदा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।