पर्यटन/संस्कृति

शुरु भएन हीरण्यवर्ण महाविहारको पुनःनिर्माण

सञ्चिता घिमिरे/  ललितपुर । भूकम्प गएको तीन वर्ष बितिसक्न लाग्दासमेत हीरण्यवर्ण महाविहारको पुनःनिर्माण शुरु भएको छैन ।

भारतीय दूतावासले पुनःनिर्माणको जिम्मेवारी लिने नेपाल सरकारसँग सम्झौता भए पनि अर्थ मन्त्रालयले तदारुकता नदेखाउँदा काम अघि नबढेको हीरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकासरत्न धाख्वा बताउछन् ।

समितिबाट फाइल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण हुँदै अर्थ मन्त्रालय पुगेको छ । अर्थ मन्त्रालयमा पुगेर फाइल अघि बढ्न सकेको छैन । महाविहारमा पुनःनिर्माण नहुँदा अमूल्य कला–कौशल बिग्रने अवस्थामा पुगेका छन् । पुनःनिर्माण ढिलो हुँदा भित्तामा भएको क्षति बढिरहेको छ । उनी भन्छन्, “अझै शुरु गर्न ढिला गरिरहे भित्ताको क्षति अझै बढ्न सक्छ ।”

भूकम्पले गर्दा यहाँको छाना बिग्रिएको अध्यक्ष धाख्वा बताउछन् । झिँगटीको छाना कम्पनका कारण छुट्टिएको छ । छानाबाट खसेको पानीले गर्दा एउटा भ¥याङ फेर्नुपर्ने अवस्थामा पुगेको छ । कतिपय काठ भूकम्पपछि धेरै बिग्रिएका छन् । उनी भन्छन्, “नाङ्गो आँखाले नदेखिने भए पनि महाविहारमा भूकम्पपछि अहिले क्षति बढिरहेको छ ।”

छाना बिग्रिएपछि संरक्षण समितिले पहिले पाल हालिरहेको थियो । एक वर्षमा धेरै पटकसम्म पाल फेर्दा खर्चिलो भएको अध्यक्ष धाख्वा बताउछन् । समितिले केही समय पहिले मात्रै अस्थायी रुपमा छानाको मर्मत गरेको छ । उनी भन्छन्, “यहाँका कला नबिग्रिउन् भन्ने हाम्रो चाहना हो ।” यहाँका भित्तामा नै अमूल्य कला–कृति रहेका छन् ।

यहाँ भएका भित्ता फेर्न नमिल्ने खालका भएकाले मर्मत गरेर बलियो बनाउने योजना धाख्वा सुनाउछन् । झिँगटीको छाना गह्रौँ भएकाले त्यसका ठाउँमा पित्तलको छानाको प्रस्ताव समितिले गरेको थियो । उनी भन्छन्, “पित्तलको छानामा सरोकारवाला सबैको सहमति जुटिसकेको छ ।”

अहिले पुनःनिर्माणका लागि झण्डै रु पाँच करोड आवश्यक रहेको धाख्वा बताउछन् । पहिले–पहिले स्थानीयसँग नै रकमको जोहो गरे पनि अहिले त्यो अवस्था छैन । उनी भन्छन्, “अहिले स्थानीयको भूकम्पले आफ्नै कुनै न कुनै खालको क्षति भएकाले आर्थिक सहयोग गर्न सक्ने अवस्था छैन ।”

भूकम्प आउनुभन्दा छ महिना पहिले मात्रै मन्दिरको जीर्णोद्धार सम्पन्न भएको थियो । त्यतिबेला पुनःनिर्माण नभएको भए भूकम्पका समयमा पूर्णरुपमा क्षति हुने अवस्था थियो । स्थानीयबाट रु तीन करोड रकम संकलन गरेर त्यतिबेला मन्दिर जीर्णोद्धार भएको थियो । उनी भन्छन्, “सर्वसंघमा भएका पाँच हजार सदस्यबाट नै सहयोग संकलन गर्न सकिन्थ्यो, तर अहिले त्यो अवस्था छैन ।”

यो मन्दिर निर्माणमा पनि भारतको पिङ्ला भन्ने राज्यकी महारानीसँग सम्बन्धित कथन पाइन्छ । भारतसँग मन्दिरको सम्बन्ध भएकाले पनि संरक्षण समितिले सबैभन्दा पहिले भारतलाई नै पुनःनिर्माणका लागि आग्रह गरेको हो । भारत पनि सकारात्मक भएरै सम्झौता भएको थियो ।

पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले दूतावासले गर्ने काममा कार्यालयको भूमिका नहुने बताए । उनी भन्छन्, “स्थानीयले हामीलाई भन्नुहुन्छ तर वास्तवमा मन्त्रालय तहबाट पहल हुनुपर्छ ।” पाटनमा भीमसेन मन्दिरसँगै कुम्भेश्वर मन्दिरको पनि पुनःनिर्माण शुरु भएको थिएन । केही दिन पहिलेबाट मात्रै कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।

झण्डै पाँच हजार सदस्य भएको यो महाविहारलाई उपत्यकाको तेस्रो पुरानो महाविहार मानिन्छ । महाविहारमा सताब्दीभन्दा पुराना स्मारक रहेका छन् । दाजुभाइ छुट्टिँदा वा विवाद हुँदा भएका धार्मिक वस्तु यहाँ ल्याएर राख्ने चलन रहेको छ । मन्दिरमा भएका अमूल्य वस्तुको संरक्षणका लागिसमेत मन्दिरको पुनःनिर्माण चाँडो गर्नुपर्ने भन्दै आएका छन् ।

महाविहारमा धेरै पुराना र महत्वपूर्ण वस्तु भएकाले तीनको प्रदर्शनी गर्ने समितिले योजना बनाएको थियो । भूकम्पले भवनमा क्षति पुगेकाले त्यो कामसमेत शुरु भएको छैन ।

हीरण्यवर्ण महाविहार हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । यहाँ दर्शनका लागि विशेष गरेर चीन, भारतलगायत सार्क मुलुकबाट पर्यटक आउने गरेका छन् ।

महाविहारमा सानो र ठूलो गरेर दुईजना पुजारी रहन्छन् । दुई जनामध्ये सानो पुजारीलाई मन्दिरको मूल पुजारी मानिन्छ । हीरण्य नामको मुसाको नामबाट महाविहारको नाम रहेको हो । अहिले पनि नियमितरुपमा अन्न दिएर मुसाको संरक्षण हुँदै आएको छ ।