आर्थिक

गैरकानुनी रुपमा धितोपत्र निष्काशन नगर्न आग्रह

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गैरकानुनी ढंगबाट धितोपत्र सार्वजनिक निष्काशन नगर्न तथा लगानीकर्तालाई भ्रममा नपार्न आग्रह गरेको छ ।

एक सूचनामार्फत ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट कानूनी प्रावधान रहेको भनी बोर्डले सचेत गराएको छ । कतिपय जलविद्युत् कम्पनीले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशन गरेको पाइएको जनाइएको छ ।

धितोपत्रसम्बन्धी प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा नगरी सर्वसाधारणसमक्ष धितोपत्र बिक्री गर्ने कार्य गैरकानुनी भएकाले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गर्न आग्रह गरिएको छ । गैरकानुनी ढंगबाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रमा लगानी गर्दा लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने हुनाले त्यस्ता धितोपत्रमा लगानी नगर्न नगराउन बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले विगतमा पनि यस्ता गैरकानुनी तवरले धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थालाई रोक लगाएको र लगानीकर्तालाई सतर्क गराइएको स्मरण गराएको छ ।

सामान्य अंकले घट्यो बजार
धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६ कम्पनीको करीब १० लाख ७० हजार कित्ता शेयर करीब रु २० करोड ५९ लाखबराबरको शेयर खरिद बिक्री भएको छ ।

वित्त क्षेत्रको बाहेक अरु समूहको शेयर आज ओरालो लागेको छ । सो समूहको शेयर ३.४७ विन्दुले उकालो लाग्दा बैंकिङ १।९६, होटल १६.५४, विकास बैंक ३.६४, जलविद्युत् ६.२४, बीमा २३.५८, उत्पादन ३३.४८, अन्य ०.६ र माइक्रोफाइनान्स समूहको शेयर ५.२६ विन्दुले ओरालो लागेको हो ।