पु.समाचार

यातायात निर्देशिकाको फाउण्डेसनद्वारा स्वागत

काठमाडौँ । गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ ।

फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ ।

फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आज विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध जनाएको छ ।

सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित सात वटा निर्देशिका मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी विल्डिङ मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४० कार्यान्वयनमा ल्याएको छ ।

केही वर्षअघि सर्वोच्च अदालतले उपभोक्ताको प्रतिस्पिर्धी सेवा छनोट गर्ने अवसरबाट वञ्चित गर्ने उद्देश्यले यातायात क्षेत्रमा लादिएको एकाधिकार अन्त्य गर्न सरकारका नाउँमा निर्देशात्मक आदेश दिएको थियो ।

अब सबै यातायात व्यवसायीले कानूनी सर्वोच्चताको सम्मान गर्दै सरकारले ल्याएका निर्देशिकाअनुसार व्यवसाय सञ्चालन गर्न गराउन गोगो फाउन्डेशनले आह्वान गरेको छ ।