आर्थिक

प्रदेश १ः आर्थिक विधेयक पारित

विराटनगर । प्रदेश नं १ को आज बसेको प्रदेशसभाको बैठकले संशोधनका लागि टेबुल गरिएको प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले टेबुल गरेको सो विधेयक सर्वसम्मत पारित गरिएको हो । यसअघि सो विधेयकको १ देखि ६४ सम्मको धारा, नाम र प्रस्तावना विधेयकको अंग बनोस् भनी राखिएको प्रस्तावपनि सर्वसम्मत ढंगले पारित भएको छ ।

प्रदेशसभाको आजको शून्य समयमा ११ जनाले आआफ्ना जिल्लाका नदी कटान, सुकुम्बासी, भूकम्पपीडित र बाढीपीडितका समस्या, सडकको दुरवस्था आदि विषयमा ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले बाली काट्नुअगावै सरकारद्वारा समर्थन मूल्य तोक्नुपर्ने र ऋण लिएका किसानलाई बाली काट्ने अवधिसम्मको व्याजमा सरकारलाई अनुदान दिनुपर्ने माग गरे ।

पूर्णप्रसाद राईले गत पुस ३० गते संखुवासभामा सडक दुर्घटनामा निधन भएका मकालु गाउँपालिका अध्यक्षका परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । विमल कार्कीले उदयपुरका चुनढुंगा खानीलाई उपयोगमा ल्याउन माग गरे ।

प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले धनकुटाबाट पूर्वी जिल्ला जाने सडकको मर्मतका साथै पहाडी जिल्लाका लागि धनकुटामा यातायातका कार्यालय स्थापनाको माग गरे । झलकबहादुर मगरले झापाको सतासीधाम, धर्मपुर, शिवगञ्ज, धर्मपुरलगायत कटानबाट प्रभावित गाउँमा ठोस रुपमा नदी नियन्त्रण र धनीपुर्जा, खानेपानीलगायत समस्या समाधानको माग गरे ।

कृष्णकुमारी राईले सुकुम्बासी र विन्द्या कार्कीले बाढीपीडित परिवारका समस्या ध्यानाकर्षण गराए । मोहनकुमार खड्काले ओखलढुंगाको सुख्खाबाट प्रभावित क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषित गर्नुपर्ने र भूकम्पबाट क्षति भवनको पुनःनिर्माणको कार्यमा तीव्रता ल्याउन तथा यशोदा अधिकारीले मोरङको मावा खोलामा अवैध गिट्टी र बालुवाको उत्तखननका विषयमा ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक यही चैत २८ गते अपराह्न १ बजे बस्नेछ ।