स्वास्थ्य

मणिपाल शिक्षण अस्पतालमा झडप

पोखरा । स्थानीय मणिपाल शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन् ।

अस्पताल प्रशासन कार्यालय अगाडि विभिन्न माग राखी धर्ना दिँदै आएका कर्मचारी र प्रहरीबीच झडप हुँदा सात प्रहरी र तीन आन्दोलनरत कर्मचारी घाइते भएका हुन् । कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले २० आन्दोलनकारीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनरत कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीसहित २० कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । आन्दोलनकारीले अस्पतालको दोस्रो तलामा रहेको सिसालगायत डिनको कार्यालयमा तोडफोड गरेका छन् । तलबको १० प्रतिशत घरभाडाबापतको सुविधा दिनुपर्ने, खटिएका इञ्चार्जलाई छुट्टै भत्ता व्यवस्था गर्नुपर्ने, सञ्चित बिदाको १८० दिन (पूरै) बिदा पाउनुपर्ने, लामो समयदेखि अस्थायी र करारका कर्मचारीलाई तुरुन्त स्थायी गरिनुपर्ने माग गर्दै कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।