खेलकुद

काष्ठमण्डप कप बुधबारदेखि

काठमाडौं । काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १४ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

पहिलो दिन लिग चरणका खेलहरु हुनेछन् । दोश्रो दिन क्वाटरफाइनल र सेमिफाइनल खेल खेलाइनेछ भने अन्तिम दिन शुक्रबार फाइनल हुनेछ । खेलहरु मण्डिखाटारस्थित आयोजककै मैदानमा खेलाइनेछ । गत वर्ष साइपाल एकेडेमीले काठमाडौं जेभियर पब्लिक स्कुलाई पराजित गर्दै उपाधि जितेको थियो ।