अन्तर्राष्ट्रिय

बोको हरामले गरे १८ सर्वसाधारणको हत्या

कानो, नाइजेरिया । नाइजेरियाका बोको हराम विद्रोही र सैनिकबीच गएराति भएको भिडन्तमा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

गएराति गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकूहरुले आक्रमण गरेका थिए । त्यसपछि सेनाले पनि आफ्नो तर्फबाट आक्रामक कारबाही थालेको थियो ।

त्यसमा परी मारिएका १८ जनामा अधिकांश बोको हराम नै रहेका छन् । त्यसमा परी केही सैनिक घाइते भएका बताइएको छ । सेनातर्फ भने कसैको ज्यान नगएको अधिकारीहरुले जनाएका छन् । सैनिक अधिकारीकाअनुसार बोको हराम र सेनाको भिडन्तको बीचमा परेर भाग्ने प्रयत्न गरेका उक्त गाउँका सर्वसाधारण पनि सो दोहोरो आक्रमणमा परी मारिएका छन् ।

यहाँको बोर्नो राज्यको बालेसुवा र बाले कुर्ना भन्ने दुई गाउँबाट १८ वटा शव बरामद गरिएको सेनाले जनाएको छ । सेनाको विज्ञप्तिका अनुसार उक्त राज्यमा मारिएकामा सोही गाउँका बोको हरामका लडाकू रहेका छन् ।

बोर्नो राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ । सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् । यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ ।

नाइजेरियामा बोको हरामले ठूलो हिंसा मच्चाइरहेका छन् । उनीहरुलाई यहाँको राज्यले नै आतंककारी समूहमा राखेको छ । उनीहरुको हिंसाका कारण त्यहाँका लाखौँलाख मानिस विस्थापित भएका छन् । हिंसा अझै रोकिएको छैन ।