आर्थिक

भरतपुर महानगरले आन्तरिक आम्दानी एक अर्ब पु¥याउने

चितवन । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु¥याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।

कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो ।

महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थासमेतलाई आधार मानी व्यवसायको लगानी, पूँजी, व्यवसायको कारोवारका आधारमा केही करका दरलाई मात्रै समयसापेक्ष बनाइएको बताए । उनले महानगर हुनका लागि आन्तरिक आम्दानी रु एक अर्ब हुनुपर्ने भएकाले आउँदो आवभित्रमा आम्दानी रु एक अर्ब पु¥याइने लक्ष्य लिइएको जानकारी दिए ।

चालू आवमा व्यवसाय करबाट रु १० करोड, आन्तरिक राजश्वबाट रु सात करोड र आन्तरिक आयबाट रु ५३ करोड गरी रु ७० करोड राजश्व उठाउने लक्ष्य महानगरको छ । गत वर्ष रु २३ करोड ९८ लाखमात्र आन्तरिक आम्दानी भएको थियो । गत वर्ष ११५ क्षेत्रमा कर लगाइएकामा यस वर्ष दायरा फराकिलो पारेर २०८ क्षेत्रमा कर लगाइएको छ । महानगरको चालू आवको बजेट रु तीन अर्ब २५ करोड छ ।

लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा कर्मचारीले जोखिम नलिने भएकाले करको दर र दायरा नबढाएको जानकारी दिंदै प्रमुख दाहालले जनमत प्राप्त जनप्रतिनिधिले महानगरको समग्र विकास आन्तरिक आम्दानीबिना गर्न नसक्ने हुँदा व्यवसाय कर र यसका दायरा तथा शुल्कमा केही हेरफेर मात्र गरिएको बताए।
महानगरका उपप्रमुख पार्वती शाहले निकै मेहनतका साथ करको दायरा बढाएर केही वृद्धि गरिएको बताए । उनले महानगरले गठन गरेको राजश्व परामर्श समितिले छलफल गरी केही विषयमा थपघट प्रस्ताव गर्न सक्ने उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले करको वर्गीकरणमा देखिएका समस्या समाधान गर्दै जाने बताए । करको दर बढेकामा विरोध जनाउँदै आएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले करमा वर्गीकरणको आधार प्रष्ट नभएको, त्रुटि रहेको र वैज्ञानिक नभएको भन्दै सच्याउन आग्रह गरे।
उद्योग वाणिज्य संघका निवर्तमान जिल्लाअध्यक्ष राजन गौतम संघका उपाध्यक्ष राजु पौडेलले पहिले कर तिरेर समृद्ध महानगर बनाउनु पर्नेमा जोड दिँदै करको दायरा फराकिलो बनाउनु पर्छ भने ।