कृषि

क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ

ललितपुर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आज बिहान मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् ।

बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरे । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । उनले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यही फलाउन निर्देशनसमेत दिए ।

मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्ने क्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताए । मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नु पर्दैन । उनले भने, “अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिष्पर्धा हुनुपर्छ ।”

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ भन्दै उनले झण्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्याङ्क छ । अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याए ।

जमिन बाँझो राख्न नहुने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिए ।