कृषि

पशुपक्षी बीमा गराउने बढ्दै

दाङ । पछिल्लो समयमा जिल्लाका पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको कार्यालयका प्रमुख डा चन्द्रबहादुर रानाले जानकारी दिए।

आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्म यहाँ आठ हजार ७७६ पशुपक्षीको बीमा भएको छ । जसमा गाईभैँसी २०४, बाख्रा २९४, बंगुर ४९, कुखुरा लेयर्स एक हजार ८०० र ब्रोइलर छ हजार, २२९ बटाको बीमा गरिएको छ ।

विसं २०७१ देखि जिल्लामा नेशनल लाइफ, शिखर, एभरेष्ट इन्स्योरेन्स बीमा कम्पनीमार्फत पशुपक्षीको बीमा गराउँदै आएको र त्यसबापत रु चार करोड ६३ लाख ३८ हजार संकलन भएको छ ।

बीमा कम्पनीले एउटा पशुको एक वर्षका लागि निर्जीवन बीमा गर्दै आएका छन् । कुखुराको बीमा सरदर रु ७००, उन्नत गाईको रु एक लाख ५० हजार, उन्नत भैँसीको बीमा रु एक लाख २५ हजारसम्म रहेको छ ।

पशु सेवा कार्यालयले पशुपालक किसानलाई बीमाप्रति आकर्षित गर्न सार्वजनिक सूचना प्रवाह र गोष्ठी तथा विभिन्न कार्यक्रम गर्दै आएको छ । बीमा अभिकर्ता पनि हाल गाउँ गाउँमा पुगेर सिकानलाई बीमा बारेमा जानकारी दिंदै आएका छन् ।