अन्तर्राष्ट्रिय

पूर्व क्याटलोनियाली नेता पुज्डमोनको रिहाइका माग गर्दै बर्लिनमा जुलुस

बर्लिन, जर्मनी । स्पेनको क्याटलानियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख काल्र्स पुज्डमोनको रिहाइको माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौँको सङ्ख्यामा उनका समर्थकले प्रदर्शन गरेका छन् ।

उनलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता जर्मनीबाट पक्राउ गरिएको थियो ।

जर्मनीको राजधानी शहरमा पानी परिरहेको भएपनि प्रदर्शनकारी ब्रान्डेनवर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुसमा सहभागी बनेका थिए । विरोध कार्यक्रमका सहभागीले ‘नेता पुज्डमोन र क्याटलान राजनीतिक वन्दी’को रिहाइका लागि अनुरोध गरेका थिए । ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलोनियाली नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो ।

जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेँला र राता झण्डाहरू बोकेका थिए ।
जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति चाल्र्स पुज्डमोनलाई गत आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले पक्राउ गरेको थियो ।

उनी क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आएका थिए